मिडियाखबर
मेलम्चीको पानी आजबाट काठमाडौं पठाउन रोकिएको छ।
वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ। आजै पनि हेलम्बुको तार्केघ्याङ क्षेत्रमा ५५.४ मिलमिटर वर्षा भएको छ।
मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं आइरहेको थियो।
काठमाडौंमा हाल अस्थायी तवरले पानी पथान्तरण गरिँदै आएको छ। २०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र (हेडवर्क्स) सहित तल्लो तटीय क्षेत्रमा असर पु¥याएको छ।
मेलम्ची आयोजनाको बाँध क्षेत्र अझै पुरिएको अवस्थामा छ। पुरिएका एक नम्बर र १९ नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी ल्याइएकामा वर्षामा बन्द गरिएको हो।
अघिल्लो वर्ष पनि असार ७ गतेदेखि नै पानी पथान्तरण रोकिएको थियो भने माघ १ गतेदेखि काठमाडौंमा पानी ल्याइएको थियो।
गत वर्ष सुरुङमा बालुवा नछिरोस् भनेर उपकरणसमेत राखिएको थियो। तर साउन २८ र २९ गतेको बाढीले ती उपकरणमासमेत क्षति पु¥याएर सुरुङमा लेदो पसेको थियो।
यसैबीच सरकारले अम्बाथानबाट सुरुङ सार्ने तयारी गरेको छ। मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंकले अध्ययन गरेर सर्कथली बाँध सार्न सुझाव दिएको छ।
सरकारले पनि विज्ञहरूको सुझावको आधारमा बाँध सार्न सैद्धान्तिक सहमति दिइसकेको छ। नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने मेलम्ची खानेपानी विकास समितिले अनुमान गरेको छ। नयाँ बाँधसहितका संरचना बनाउन एसियाली विकास बैंकले दुई अर्ब अनुदान उपलब्ध गराउने भएको छ। त्यस्तै उसले थप ऋण सहायता पनि उपलब्ध गराउने भएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड बजेट विनियोजन गरेको छ। वर्षायाममा खानेपानी अभाव नहोस् भनेर मेलम्ची खानेपानी विकास समितिले काठमाडौंको गोकर्णेश्वर वडा नम्बर १ मा रहेको धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी ल्याउने तयारी गरेको छ।
वर्षायाममा पानी भरेर हिउँदमा बागमती नदीमा बगाइने उद्देश्यले शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने नागमती खोलामा उक्त बाँध बनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया