☰ open

एम्बाप्पेको कीर्तिमानी खेलमा फ्रान्स नकआउट चरणमा

२०८३ असार ९, मंगलवार ०९:३०
मिडियाखबर

स्टार स्ट्राइकर किलियन एम्बाप्पेले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएपछि फ्रान्स जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न खेलमा इराकलाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

एम्बाप्पेको कीर्तिमानी खेल र गोल
अमेरिकाको फिलाडेल्फियामा भएको रोमान्चक खेलमा फ्रान्सेली टोलीका कप्तान एम्बाप्पेले दुई गोल गर्दै टोलीको जितमा मुख्य भूमिका खेले। खेलको १४औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एम्बाप्पेले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५४औँ मिनेटमा उस्मान डेम्बेलेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले फ्रान्सको अग्रता दोब्बर बनाए। चट्याङ पर्ने जोखिमका कारण खराब मौसमले प्रभावित बनेको खेलको दोस्रो हाफ सुरु हुन झण्डै दुई घण्टा ढिलाइ भएको थियो।

नकआउट चरणको यात्रा सुनिश्चित
खेलको ६६औँ मिनेटमा फ्रान्सले तेस्रो गोल थप्दै इराकको पुनरागमनको सबै बाटो बन्द गरिदियो। खेलमा दुई असिस्ट प्रदान गरेका ओलिसेकै पासमा यसपटक डेम्बेलेले गोल गर्दै टोलीलाई ३–० को सानदार जित दिलाए।

पहिलो खेलमा सेनेगललाई ३–१ गोलअन्तरले हराएको फ्रान्सले लगातार दोस्रो जितसँगै समूह ‘आई’ बाट नकआउट चरणको यात्रा तय गरेको छ। लगातार दुई हार बेहोरेको इराक भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिने सम्भावना बलियो बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights