☰ open

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २१ करोडभन्दा बढी

१७ घण्टा
मिडियाखबर

काठमाडौं २१ साउन २०८३।
गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २१ करोडभन्दा बढी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड (GBBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले बैंकको खुद नाफा, सञ्चालन नाफा, खुद ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानीमा उल्लेखनीय सुधार भएको देखाएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको नाफाको तुलनामा यो ३५.३४ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँभन्दा ५.६४ प्रतिशतले उच्च हो। यससँगै सञ्चालन नाफा ४२.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ।

बैंकले खराब कर्जाको असुलीमा सुधार तथा जोखिम व्यवस्थापन प्रभावकारी बन्दै गएपछि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा घटाउन सफल भएको छ। गत आर्थिक वर्षमा बैंकले ४ करोड ९० लाख रुपैयाँ मात्र इम्पेरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो वर्ष सो रकम ६४ करोड ७० लाख रुपैयाँ थियो।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष २१ रुपैयाँ ९६ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर २८ रुपैयाँ ४ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ।

लाभांश वितरण क्षमताका हिसाबले पनि बैंकको अवस्था सबल देखिएको छ। नियामकीय समायोजनपश्चात् बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस सेयर तथा नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा रहेको छ।

पूँजी संरचनातर्फ बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र विभिन्न जगेडा कोषसमेत समेट्दा बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ बैंकले ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तै, बैंकको कुल सम्पत्ति ८.२१ प्रतिशतले वृद्धि भई अघिल्लो वर्षको १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया