☰ open

आज नागपञ्चमी: घर-घरमा अष्टनाग टाँसेर पूजा गरिँदै

७ घण्टा
मिडियाखबर

काठमाडौं १ भदौ २०८३

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर विधिपूर्वक नागको पूजाअर्चना गरी नागपञ्चमी मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ।

यस वर्ष जेठमा अधिकमास परेकाले सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। ढोकामा नागको तस्बिर टाँस्दा वर्षभरि सर्प र बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास छ।

वैदिक मान्यता र धार्मिक महत्व

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए पानीको अभाव हुने भएकाले पनि खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

सनातन धर्ममा नागलाई भगवान् विष्णु र शिवका रूपमा पूज्ने गरिन्छ। शिवको माला, विष्णुको शेषनाग शय्या, गणेशको हात तथा बुद्ध, मत्स्येन्द्रनाथ र जैन तीर्थङ्करको शिरमा सर्पाकार आकृति रहने धार्मिक प्रसङ्ग छ।

पौराणिक किंवदन्ती र अष्टनाग पूजा

खेत खन्दा नागका बच्चा मारेका किसान परिवारलाई किसानकी छोरीको अनुनय र पूजाआराधनापछि नागिनीले जीवनदान दिएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती छ। त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा तपस्या गर्दा पानी रोकिएको र मत्स्येन्द्रनाथको आगमनपछि नाग मुक्त भई वर्षा भएको प्रसङ्ग पनि जोडिन्छ।

यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको पूजा गरी ढोकामा तस्बिर टाँसिन्छ। नागपञ्चमीका दिन खेतबारी खनजोत नगर्ने र घिस्रने जीवलाई मार्न नहुने धार्मिक नियम छ।

पूजास्थल र वैज्ञानिक दृष्टिकोण

आज काठमाडौँको नागपोखरी, टौदह र भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह तथा कुण्डहरूमा पूजाआजा गर्नेको घुइँचो लाग्छ। भक्तजनहरूले नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटी प्रसादका रूपमा चढाउने गर्छन्।

वैज्ञानिक रूपमा पनि प्रकृतिमा रहेका विषालु पदार्थ सोसेर मानव जातिको रक्षा गर्ने भएकाले नागको संरक्षण र पूजाको परम्परा बसेको मानिन्छ। नागपञ्चमीसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीको चाडबाडको याम सुरु हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया