☰ open

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म विशेष छुट

१ घण्टा
मिडियाखबर

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई विभिन्न स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायत संस्थाका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ ।

नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य तथा सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार मनकामना हिलक्रेष्ट होटल, कुरिनटार चितवनमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यस्तै एलोफ्ट काठमाडौं, छायाँदेवी कम्प्लेक्स, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र एल्लो हात्ती, लाजिम्पाटमा उपहार सामग्री बिक्री सेवामा १० प्रतिशतसम्म छुट पाइनेछ ।

यसैगरी अल्फा केयर डाइगोनोस्टिक सेन्टर, बुद्धनगरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म, दृष्टी आई केयर, कलंकीमा नाक, कान, घाँटी तथा आँखा उपचार एवं प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ओरियन्ट क्याफे, दरबारमार्गमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा होटल स्मारक, हेटौंडामा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले यस किसिमको सहकार्यबाट आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

गुणस्तरीय वित्तीय सेवासँगै ग्राहकको दैनिक जीवनसँग जोडिएका विभिन्न क्षेत्रमा थप सुविधा विस्तार गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकलाई वित्तीय सेवासँगै स्वास्थ्य, आतिथ्य तथा अन्य सेवामा समेत सुविधा उपलब्ध गराउने बैंकको यो पहलले ग्राहक अनुभवलाई थप सहज र लाभदायी बनाउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया