☰ open

भोटेकोशी बाढी पीडितको राहतका लागि ग्लोबल आइएमई बैंकद्वारा ५ करोड सहयोग

१ घण्टा
मिडियाखबर

काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा डुबानका कारण बस्ती प्रभावित हुनुका साथै सयौँ परिवार विस्थापित भएका छन्। विभिन्न स्थानमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।

बैंकले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारका लागि खाद्यान्न तथा राहत व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको जनाएको छ।

ग्लोबल आइएमई बैंकले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ। बैंकका अनुसार यसअघि पनि बाढी, पहिरो, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा प्रभावित समुदायको उद्धार तथा राहतका लागि विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ।

७७ जिल्लामा बैंकको सेवा सञ्जाल

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ। बैंकले हाल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान तथा खाडी मुलुकलगायत विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ।

बैंकका अनुसार वित्तीय सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत निरन्तर काम गर्दै आएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंक सम्मानित हुँदै आएको समेत जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया