☰ open

वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

३ घण्टा
मिडियाखबर

सर्लाही १४ अशोज २०८३–।
हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त छन् । उमेरले चार दशक लागेका उनका लागि खेतीपाती दैनिकी गुजार्ने माध्यममात्र होइन, उन्नति गर्ने उद्यम बनेको छ ।

मङ्गलबार दिउँसो अन्सारी हरिवन नगरपालिका–२ पाकरगाछी नजिकै खेतमा धमाधम टमाटरको विछन राख्ने तयारी गर्दै थिए । यस वर्ष उनले सात बिघा खेतमा टमाटर रोप्ने बताए । त्यसमध्ये तीन बिघा खेतमा उनले दुईपटक गरेर गोलभेँडाको बेर्ना सारिसके । बाँकी दुई बिघा खेतका लागि टनेलमा बेर्ना तयारी अवस्थामा छन् भने बाँकी दुई बिघा खेतका लागि बीज राख्ने काम धमाधम भइरहेको छ ।

उनले अधिकांश खेतमा ‘कविता’ जातको गोलभेँडा लगाउने बताए । यस जातको टमाटरको माग बजार उच्च छ, अन्यले अन्य जातको पनि लगाउछन्, तर मलाई यही जात राम्रो लाग्छ । विगत आठ वर्षदेखि गोलभेँडाखेतीलाई आफूले उद्यमका रुपमा अँगालेको अन्सारीले बताए । जोखिमको खेती भए पनि अहिलेसम्म लगानी डुब्यो भनेर चिन्ता गर्नुपर्ने दिन आएको छैन ।

भदौ सुरुबाट गोलभेँडाको विछन राख्न सुरु गरिन्छ । बेर्ना २५ देखि ३० दिनको भएपछि तयार गरिराखेको खेतमा लगेर बेर्ना सारिन्छ । त्यसको ३० देखि ४५ दिनबाट गोलभेँडाले उत्पादन दिन सुरु गर्ने अन्सारीले बताए । कच्चा पदार्थका रूपमा रहने गोलभेँडा छोटो समयमा सड्ने भएकाले किसानले राम्रो मूल्य नपाउने उनको अनुभव छ । त्यसमा पनि विगतका वर्ष नेपाल–भारत खुला सीमाबाट निर्वाध गोलभेँडा आउँदा यहाँका किसान थप मारमा परेका थिए ।

Asian Paints
गत वर्षदेखि भारतबाट गोलभेँडा भित्रने क्रम रोकिएको छ । योसँगै स्थानीय उत्पादनले राम्रो मूल्य पाएको अन्सारीले जानकारी दिए । अन्सारीसँग मात्र पाँच कट्ठा खेत छ । उनले हरेक वर्ष ठेक्कामा खेत लिएर गोलभेँडा रोप्ने गर्छन् । प्रतिबिघा खेतको भाडा वर्षको रु ६० हजार तिर्नुपर्छ । त्यसमा हरेक वर्ष वर्षामा मकै र बाँकी समय गोलभेँडा र हरियो तरकारी लगाउने गरेको उनले बताए ।

गोलभेँडा तथा हरियो तरकारीेखेतीमा मिहिनेत धेरै भए पनि दुःखअनुसारको आम्दानी रहेको उनको अनुभव छ । गत वर्ष १० बिघा खेतमा गोलभेँडाखेती गरेको उनले ७५ लाख बढीको उत्पादन लिएको बताए । त्यसबाट लगानी (बीउबिजन, मलखाद, जग्गा ठेक्का, ज्याला लगायतको) काटेर रु ५० लाख बढी मुनाफा भएको उनले जानकारी दिए । त्यसबाट घरको माथिल्लो एक तला थपेको र दुई कट्ठा १० धुर घडेरीसमेत जोडेको उनले बताए ।

अन्सारी वैदेशिक रोजगारीका लागि सन् २००९ को अन्तिमतिर कतार पुगेका थिए । साढे चार वर्ष कतार बसेर फर्किएका उनले रोजगारीको विकल्प नहुँदा फेरि विदेशकै बाटो समाते । दोस्रोपटक कृषि कामदारका रूपमा कतार पुगेका उनी वर्ष दिनमै फर्किए । “पाँच वर्ष बढी समय विदेशमा दुःख गरेँ, त्यसबाट कुनै ठुलो उपलब्धि भएन, त्यसपछि भने गाउँघरमै पितापुर्खाले अँगालेको व्यावसायिक तरकारीखेती गर्ने योजना बनाएँ, अहिलेसम्म राम्रो छ”, उनले भने ।

त्यसपछि गोलभेँडालगायत तरकारीखेती सुरु गरेका उनले पछाडि फर्केर हेर्नु नपरेको बताए । “चार सन्तान यसैको आम्दानीबाट पढाइरहेको छु”, उनले सुनाए, “जेठो छोरो भारतमा पढ्दै छ । बाँकी तीन यतै पढ्दैछन् । मेरो घर खर्चमात्र महिनाको रु लाख छ । त्यसका लागि मेरो एकमात्र विकल्प भनेको यही खेतीकिसानी हो ।”

अन्सारीका लागि यो खेती नौलो थिएन । उनका बुबाले विगत ३५ वर्षदेखि गोलभेँडाखेती गर्दै आएका थिए । अहिले पनि अन्सारीको दाजुभाइ, काकालगायत परिवारले मात्र ३० बिघा बढीमा गोलभेँडाखेती गरेका छन्। गोलभेँडाखेतीसम्बन्धी राम्रो अनुभव बटुलेका उनले हरेक वर्ष मुख्य सिजनलाई छलेर उत्पादन निकाल्ने गरेको बताए । जसले गर्दा उत्पादनले समेत राम्रो मूल्य पाउने गरेको छ ।

अन्सारीले गोलभेँडा लगाउने बेलासमेत १० देखि १५ दिन अन्तरमा तीनदेखि चार लटमा गोलभेँडा लगाउने गरेको बताए । यसरी गरेको खेतीबाट मौसम र मूल्यका कारण हुने जोखिम कम गर्न सकिने उनको तर्क छ । मौसम बिग्रिएको बेला वा मूल्य अस्थिर रहेको समय कुनै एक लटको खेतीले मात्र सङ्कट छल्न सक्यो भने पनि लगानी सुरक्षित रहने उनको भनाइ छ । एकैपटक लगाउँदा मौसम बिग्रिँदा वा मूल्य अस्थिर भएको बेला निस्कियो भने सबै बर्बाद हुने उनको तर्क छ ।

उन्नत कविता जातको गोलभेँडाको बीउको प्रतिप्याकेट रु एक हजारदेखि एक हजार १०० सम्म पर्ने हरिवन नगरपालिका–२ का मुखचन्द्र महतोले जानकारी दिए । बेर्ना तयारीदेखि खेत तयारी गरेर रोप्दासम्म प्रतिकट्ठा रु १५ देखि २० हजारसम्म खर्च हुने उनको भनाइ छ । मौसममा हुने फेरबदल र शीतलहरलगायत कारण लगानी बढ्ने जोखिम रहने उनले सुनाए । रोप्ने बेलामा आवश्यक मलखाद नपाएर कालोबजारीसँग किन्नुपर्दा थप मर्का पर्ने गरेको उनको गुनासो छ ।

नेपालमै धेरै गोलभेँडा उत्पादन हुने सर्लाहीको हरिवन, लालबन्दी क्षेत्रमा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडाखेती फैलिएको छ । यहाँ उत्पादन भएको गोलभेँडा देशका मुख्य सहर हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ, पोखरालगायतका बजारसम्म पुग्ने गरेको छ भने, स्थानीय बजारसँगै सस उद्योगलगायतमा पनि यहाँ उत्पादित गोलभेँडा खपत हुने गरेको छ । यहाँ प्रतिवर्ष १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको स्थानीय कृषि थोकबजारको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया