मिडियाखबर
काठमाडौं १८ आश्विन २०८३
सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् ।
बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ हजार ९७९ नागरिकले बिमा गरेको जानकारी दिनुभयो ।
यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ लाभग्राही रहेको उहाँले बताउनुभयो ।
नेपालमा स्वास्थ्य बिमा कार्यक्रम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा ठूलो उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्ने एक लोककल्याणकारी सामाजिक सुरक्षा योजनाअन्तर्गत विसं २०७२ चैत २५ बाट सुरु भएको हो । यसलाई व्यवस्थित सञ्चालन गर्न स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको छ ।
संयोजक साउदले बिमा योजना नेपालको संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेअनुसार संवैधानिक दायित्व कार्यान्वयनको महत्वपूर्ण पक्षका रुपमा विस्तार भइरहेको बताउनुभयो । यसले आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार खर्च व्यवस्थापनमा निकै राहत पुयाइरहेको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया