मिडियाखबर
जनकपुरधाम१९, पुस २०७८ ।
प्रदेश २को खानेपानी तथा उर्जा विकास मन्त्रालयमा मन्त्री र सचिवले समय नदिँदा मन्त्रालय अस्त– व्यस्त बनेको छ । खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा, सचिव प्रेम कुमार सिंह मन्त्रालयमा समय नदिँदा मन्त्रालयको काम कारवाही नै प्रभावित बनेको छ ।
मन्त्रालय स्थापना भएको ६ महिना भन्दा बढी समय भइसक्दा पनि मन्त्रालयले विकास निर्माणको कुनै पनि काम गर्न सकेको छैन । मन्त्री शर्मा र सचिव प्रायः जनकपुरधाम भन्दा बाहिर रहने गरेकोले मन्त्रालयबाट हुने नीतिगत निर्णय तथा मन्त्रालयबाट हुने विकास निर्माणका काममा अवरोध सृजना भएको छ । मन्त्रालयमा अहिले तीन जना मात्रै स्थायी कर्मचारी रहेको कम्पुटर अपरेटर दिलिप साहले बताए । साहले भने,‘ मन्त्रालयमा कर्मचारी छैन, एक जना सचिव, एक जना ईन्जिनियर र म लगायत तीन जना मात्रै स्थायी कर्मचारी छांै । यहाँ कति जना कर्मचारीको दरबन्दी हो त्यो पनि हामीलाई जानकारी छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अहिले सम्म कर्मचारी दरबन्दीको सूची समेत पठाएको छैन । त्यस्तोमा विकास निर्माणको काम प्रभावित हुनु स्वाभाविक हो ।’ मन्त्री शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । पेशाले व्यापारी रहेका मन्त्री शर्माले एक/दुई हप्तामा मात्रै दुई तीन घण्टाको लागि जनकपुर आउने गरेको नाम नखुलाउने सर्तमा मन्त्रालयकै एक कर्मचारीले बताए । मन्त्रीले नै मन्त्रालयमा समय नदिएपछि कर्मचारी एक्लैले के गर्न सक्छन्, ती कर्मचारीले प्रतिप्रश्न गर्दै भने,‘ मन्त्री ज्यु आफ्नो व्यापारलाई लिएर कहिले काठमाण्डु ,कहिले कहाँ कहिले कहाँ ? ओहर–दोहोर गर्नु हुन्छ । उहाँलाई जनताको कामभन्दा आफ्नो काम प्रिय छ ।’ मन्त्रालयमा मन्त्री नै नबस्दा सचिव सिंह पनि प्रायः मन्त्रालयमा अनुपस्थित हुने गरेको ती कर्मचारीले स्पष्ट गरे ।
यता, मन्त्री शर्माका स्वयकस्य सचिव सुजित मिश्रले मन्त्री शर्माको स्वास्थ्य अवस्था ठिक नरहेकोले मन्त्रालयमा कम समय दिने गरेको बताए । केही महिना पूर्व मन्त्री लाई कोरोना संक्रमण भएको थियो , उनले भने,‘ त्यसकारण अहिले पनि शारीरिक रुपमा मन्त्री शर्मा स्वस्थ्य हुन सक्नुभएको छैन। फ्लो अफ चेकअफमा मन्त्री ज्युलाई काठमाण्डौ गईरहनुपर्छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया