☰ open

जनकपुरमा माओवादीले प्रशिक्षण कार्यक्रम गर्दै, प्रचण्ड आउँदै

२०७८ चैत्र ८, मंगलवार ०८:५२
मिडियाखबर

नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ। आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आउने  माओवादी केन्द्र मधेस प्रदेश समितिले जानकारी दिएका छन्। 

जनकपुरधाममा पहिलोपटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ। कार्यक्रममा २ हजार ५ सय जना नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ। 

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्य, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधिलगायत सहभागी हुने माओवादी केन्द्रले जनाएको छ। 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो जित गराउन भन्दै माओवादी केन्द्रले देशका भौगोलिक सात प्रदेश र पार्टीगत थप तीन प्रदेश गरेर दसवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको हो। यसअघि ९ वटा प्रदेशमा कार्यक्रम गरिसकेको माओवादी केन्द्रले अन्तिममा आज मंगलबार मधेस प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।

माओवादी केन्द्रका अध्यक्ष हरेक प्रदेशका कार्यक्रममा पुगिरहेका छन्। यसपटक आफ्नो पार्टी पहिलो स्थानमा आउने दाबी पनि उनले गरिरहेका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights