☰ open

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

२०७९ बैशाख २०, मंगलवार ०९:१९
मिडियाखबर

काठमाडौं २०,बैशाख २०७९ 

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए।

invotech
नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो।

बचतको साढे दुई प्रतिशत दान

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो।

nic
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले बताए।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ। जसलाई जकात भनिन्छ। ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्। जसलाई सत्कार फितर भनिन्छ।

यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ। यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ। मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ। एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए।

एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ। बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन्। यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन्।

यस अवसरमा आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिने सचिव हुसेनले बताए। यस अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights