☰ open

चन्द्रागिरी केबलकारमा एकैदिन दुईपटक समस्या

४ वर्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार सरपरिवार चन्द्रागिरी पुगेका थिए । सोही क्रममा दिउँसो केबलकारको यात्रामा निस्किए । उनको यात्रा सुरूभएर बीचमा पुग्दा एकाएक विद्युत आपूर्तिमा समस्या आएपछि उनको यात्रा रोकियो । झण्डै २५ मिनेट रोकिएपछि उनको ‘रेस्क्यु’ गरिएको उनको सचिवालयले जनाएको छ ।

त्यसपछि फेरि केही समय चलेको केबलकारमा ४ बजेपछि फेरि उसैगरी समस्या आइलाग्यो । उसैगरी विद्युत आपूर्तिमा समस्या आएपछि चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न गएका झण्डै चारसय जना उतै फसेका छन् ।

यो समाचार तयारपार्दासम्म उनीहरू फर्किसकेका थिएनन् । नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएको थियो । उनीहरूलाई बसमार्फत भएपनि फर्काउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) दिनेश मैनालीले जनाएका थिए । ‘हाम्रो टोली नै अहिले उद्धार कार्यमा खटेको छौं । आजै सबैको उद्धार गरेर गन्तव्यमा पठाउछौं,’ उनले भने ।

बुधबारमात्रै होइन, चन्द्रागिरी केबलकारमा झण्डै ४ महिनाअघि पनि यस्तै समस्या आएको थियो । तर यसरी देखिने समस्या सामान्य नै रहेको केबलकार सञ्चालक चन्द्रागिरी हिल्स प्रालीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘यस्ता समस्या सामान्य नै हुन्छन् । विश्वका जताका केबलकारमा पनि देखिने गर्छन्,’ उनले भने, ‘विद्युतीय साधन भएकाले तारहरू कहिले मुसाले काट्ने र कहिले सर्ट हुने पनि हुन्छन् ।’ तर यस्ता समस्याले दुर्घटना भने ननिम्त्याउने उनले बताए ।

‘यसरी रोकिँदा पहिला १० मिनेट कमजोरी खोजिन्छ । तत्काल भेटिने सम्भावना नभए रेस्क्यु पठाएर उद्धार गरिन्छ,’ उनले भने। यसोगर्दा सामान्यतयाः २५÷३० मिनेट लागिहाल्ने उनले बताए ।

यस्ता समस्यालाई ठूलै रूपमा लिन नहुने अध्यक्ष ढकालले बताए। उनले भने, ‘प्राविधिक कुराहरूमा यस्ता स–साना फल्ट देखिन्छन्। तर डराइहाल्नुपर्ने, दुर्घटना भइहाल्छ भन्ने हुँदैन। केबलकार एकदमै सुरक्षित हुन्छ।’ यसैबीच, चन्द्रागिरीमा फसेका ४ सय ६६ जनाको सकुशल उद्धार गरिएको कम्पनीले जानकारी दिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया