☰ open

मधु र कैटभबाट पृथ्वी बनेको हो त ?

२०७७ माघ १४, बुधबार ०९:०४
मिडियाखबर

हरि प्रसाद सोडारी

पृथ्वीको उत्पत्तिका सम्बन्धमा वेद, दर्शन, पुराण र ज्योतिषका धारणा झट्ट हेर्दा भिन्नझैं देखिए पनि साररुप एउटै छ । परमात्माले ब्रह्माण्डको सृष्टिसंगै आजभन्दा १,९५,५८,८५,१२१ वर्ष पहिले पृथ्वीको रचना गर्नुभयो । शास्त्रका खोजलाई धर्मसंग  जोड्नाले यी विषयले वैधता पाएनन् । पश्चिमाले जे खोजे तिनीहरु हाम्रै ऋषिले भनेकै कित्तामा देखिए । ऋषिमुनिहरूले प्राचीनकालमा खोज, निर्माण र आविष्कार गरेका भन्दा नंया , भिन्न विषय एवं ज्ञान अहिलेका वैज्ञानिकहरूले पत्ता लगाएका छैनन् । वैदिक ग्रन्थहरूले पानीमा आगो (अग्नि देवता) छ भनेकै विषयलाई अहिलेका वैज्ञानिकहरूले बिजुली उत्पादन गरी सत्य सावित गराए । हाम्रा पूर्खा र शास्त्रले पृथ्वी गोलाकार, विश्व ब्रह्माण्ड अण्डाकार छ भनेका थिए । पृथ्वी गोलाकार भएकाले आधा भाग सूर्यबाट प्रकाशित हुन्छ र आधा भागमा रात पर्छ । ग्रह र सूर्यको आकर्षणले ब्रह्माण्ड अडिएको छ । फराकिलो र समथर जमिनमा बीचको भूभाग उठेको जस्तो काल्पनिक भ्रम हुनाले पनि पृथ्वी गोलो भएको पुष्टि हुन्छ । पाश्चात्य वैज्ञानिकहरूले प्रारम्भमा पृथ्वीलाई चेप्टो, लाम्चो भनी अनेक तर्क गरे पनि अन्तमा हाम्रै भनाईमा सहमत हुन पुगेका छन् ।

पाश्चात्यहरूले अत्यन्त तातो सूर्यबाट छुटिएका टुक्राहरू सेलाउादै गएर पृथ्वीलगायतका ग्रहहरू बनेको स्वीकार गरेका छन् । तैत्तिरीय उपनिषद्मा भनिएको छ –“तस्माद्वा एतस्मादात्मन आकाशः सम्भूतः । आकाशाद्वायुः । वायोरग्नि अग्नेरापः । अद्भ्यः पृथ्वी । पृथ्विव्या ओषधयः । ओषधिभ्योन्नम् । अन्नात्पुरुषः” अर्थात्, परमात्माबाट पहिले आकाशको सृष्टि भयो, आकाशबाट वायु, वायुबाट तेज (अग्नि)को उत्पत्ति भयो । अग्निबाट पानीको, पानीबाट पृथ्वीको उत्पत्ति भयो । पृथ्वीबाट वनस्पतिको । वनस्पति र औषधिबाट प्राणीहरूको सृष्टि भयो । वनस्पति भनेकै अन्न हो, जसबाट प्राणीले भोजन र आश्रय प्राप्त गर्दछन् । वैज्ञानिकले भनेको सूर्य र वैदिकशास्त्रले भनेको अग्नि एउटै तत्त्व हो । तातो पृथ्वी वाष्पीकरण हुँदै गएर पानी पर्यो भन्ने वैज्ञानिकहरूको वर्णन र तैत्तिरीयोपनिषद्को व्याख्या, विचार र वचन एकै देखिन्छ । हाम्रा दर्शनले जे भनेका थिए उनीहरूले पनि घुमाउरो भाषामा त्यही बताएका छन् ।

यथोर्णनाभिः सृजते गृह्णते च यथा पृथिव्यामोषधयः सम्भवन्ति ।

यथा सतः पुरुषात्केशलोमानि तथाक्षरात्सम्भवतीह विश्वम् ।।

—मुण्डकोपनिषद् १। १।७

अर्थात्, जसरी माकुराले स्वयं जालो बुन्दछ र त्यसलाई निल्दछ, जसरी पृथ्वीमा विभिन्न औषधिहरू उत्पन्न हुन्छन् तथा जसरी जीवित मनुष्यमा कपाल र रौँ उत्पन्न हुन्छन्, त्यसैगरी नै यस सृष्टिमा परब्रह्माबाट सब उत्पन्न हुन्छन् ।’ शास्त्रले भनेका कूटार्थ, प्रसङ्क, प्रतीकात्मक र पारिभाषिक अर्थ, परिस्थितिजन्य अवस्था नबुझ्दा अर्थको अनर्थ हुन सक्छ, धर्मका नाममा पाप हुन सक्छ, मर्महरू बाङ्गिन्छन्, दर्शनहरू चियागफ हुन सक्छन् । वैदिकशास्त्रलाई बुझ्न गुरुको सहयोग, विषयगत अध्ययन प्रतिको लगाव र संस्कृतभाषाको ज्ञान परमावश्यक पर्दछ । अनुवादकको भर र व्यक्तिगत वर्णनमा पूर्णरूपले विश्वास गर्न हुादैन । उदाहरणका रूपमा स्कन्दपुराणको केदारखण्ड माघमहात्म्यबाट साभार गरिएको स्वस्थानी कथा प्रसङ्गलाई लिन सकिन्छ ।

शेषनागमाथि योगनिन्द्रामा मस्त भगवान् नारायणको नाभीमा उम्रिएको कमलमा बसेका ब्रह्मालाई मधु र कैटभ नामका दुई राक्षसहरूले युद्धका लागि निमन्त्रणा दिन्छन् । उनीहरू विष्णुको कानेगुजीबाट जन्मिएका थिए ।  ‘मधु’ तमो गुणको प्रतीक हो भने कैटभ’ रजो गुणको ।  निद्रा र फोहोरलाई तमो गुणको प्रतीक मानिन्छ । मधुको जन्मपछि कोल्टे फर्केर विष्णुले अर्को कानको कानेगुजी निकाल्दा त्यसबाट कैटभ जन्मियो । कोल्टे फेर्दा पूर्णरूपमा नजागे पनि केही जागेका कारण यस अवस्थालाई रजो गुण मानिन्छ र कैटभलाई रजो गुणको प्रतीक ठानिन्छ । भगवान् विष्णु शेषनागमाथि सुतेका छन् । शेषको अर्थ परमात्मा वा संसार नाशपछि रहने तत्त्व हुन्छ । परमात्मा चिन्तनमा मग्न विष्णुको नाभीबाट उत्पन्न कमलमा ब्रह्मा बसेका छन् ।

शरीरको केन्द्र भाग नाभी(नाइटो) हो । सत्व, रज, तममध्ये रजो गुण बीचमा पर्दछ । यसकारण विष्णुको नाभीबाट उत्पन्न कमलमा बसेका ब्रह्माजीलाई रजो गुणको प्रतीक मानिन्छ । मधु र कैटभले ब्रह्मालाई युद्धमा आउन हाँक दिएपछि उनले लक्ष्मीको स्तुति गरेर विष्णुलाई जगाउन अनुरोध गर्दछन् । ब्रह्माको रक्षार्थ देवीले विष्णुलाई जगाउाछिन् । देवीको अर्थ प्रकृति हो  भने विष्णु पुरुष हुन् । पुरुष र प्रकृति नभई सृष्टि सम्भव छैन । खेतीपातीका लागि पहिले मौसम(प्रकृति)ले साथ दिनुपर्छ अनि मात्र बाली उम्रन्छ र फल दिन्छ । प्राणीका पालनकर्ता (विष्णु) र प्रकृतिको संयोजनपछि ब्रह्माले सृष्टि गर्दछन् भन्ने यसको प्रतीकात्मक अर्थ हो ।

भगवान् विष्णु उठेर मधु र कैटभसंग पांच हजार वर्षसम्म युद्ध गर्नुभयो । युद्धबाट राक्षसलाई जित्न सक्ने अवस्था रहेन । उनीहरूलाई बुद्धिबलद्वारा जित्नुपर्ने निष्कर्ष विष्णुले निकाल्नुभयो र ‘वरदान माग’ भन्दा शारीरिक बलले अन्धो बनेका राक्षसले तिमी नै माग हामी  दिन्छौ  भने । यही मौका छोपी विष्णुले “तिमीहरूलाई मार्न पाऊा” भन्नुभयो । राक्षसले पनि ‘पानीमा होइन अन्यत्र मार’ भनी अत्तो थापे । पृथ्वी जलमग्न भएकाले विष्णुले आफ्नो आकार बढाएर दुवै राक्षसलाई काखमा राखी संसारबाट बिदा दिनुभयो । उनीहरूको रगतबाट पानी, मासु र हाडबाट पहाड, माटो, ढुङ्गा आदिको निर्माण भएपछि ब्रह्माजीले सृष्टिको प्रारम्भ गर्नुभयो भन्ने प्रसङ्क आँउछ । नार’को अर्थ पानी अयन’को अर्थ बाटो, घर हुन्छ । जसको घर नै पानी हो, त्यसलाई नारायण भनिन्छ । मधु र कैटभको रगतले समुद्र बनेको थियो भने उनीहरूलाई मार्नुभन्दा पहिले विष्णुको नाम नारायण हुनै सक्दैनथ्यो ।

क्षीर सागरमा सुतेका विष्णुसंग उनीहरूले  पाँच हजार वर्षसम्म युद्ध गरेका छन् । उनीहरूलाई विष्णुले मार्नु पहिले सात महासागरको उत्पत्ति भइसकेको थियो । राक्षसको रगतबाट समुद्र बनेको भए पानीको रङ्ग रातो हुनुपर्ने, ढुङ्गामा हाडको विशेषता देखिनुपर्ने, पहाडमा मासुको गन्ध आउनुपर्ने थियो । यसको प्रतीकात्मक अर्थ हो– परमात्मालाई सृष्टिको इच्छा भएपछि मधु, कैटभ(माया)ले ब्रह्मा (सृष्टिकर्ता)लाई उठाए, ब्रह्माले लक्ष्मी (प्रकृति)को सहयोग लिएर विष्णु(पुरुष)लाई जगाए । विष्णुले पृथ्वी, पानी आदिमा व्यापक भएर सृष्टिलाई निरन्तरता दिएको कथनलाई साङ्केतिक रूपमा यस कथाले देखाएको छ । उपनिषद्मा पनि अद्भ्यः पृथ्वी अर्थात् पानीबाट पृथ्वी बनेको वर्णन छ । संसारको अस्तित्त्व एवं प्रकृतिको कार्यक्षमता पानी र जमिनमा छ । प्राणी बाँच्ने र रहने आधार फृथ्वी र जल हुन् । यिनीहरूमा क्रिया शक्ति छ । वायु, आकाश र प्रकाशले प्राणीलाई बाँच्न सहजमात्र बनाउाछ । राक्षससंग विष्णुले पाँच हजार वर्ष युद्ध गरेको कथनले पञ्च तत्त्वको शरीर एवं प्रकृतिलाई दार्शनिकरूपले देखाउन खोजिएको छ ।

ब्रह्मा ,विष्णु र महादेव यी तीन शक्तिबाट संसार चलेको छ । ब्रह्मा नभई प्राणी उत्पन्न हुँदैन । विष्णु नभई पालन हुादैन, महादेव नभई विनाश हुादैन । मधु र कैटभ त प्रकृति हुन् । यही कारण उनीहरूले आक्रमणको केन्द्रविन्दु ब्रह्मालाई बनाए । उन्मत्त राक्षसले युद्ध चाहेका भए त विष्णुलाई पो उठाउनु पर्ने हो, लक्ष्मीमाथि हातपात गर्नुपर्ने हो । यस कथाले संसारका प्रत्येक प्राणीमा मधु र कैटभको आसुरीभाव छ भनेर देखाउन खोजेको छ । मधुको अर्थ देखावटी रूपमा मिठो बोल्ने, वचनले ठीक बनाउने तर भित्रभित्र कुटनीति खेल्ने, थाहै नपाईकन तहसनसह बनाउन खोज्ने प्रवृत्तिलाई बुझाउँछ । कैटभ चाँहि कपटपूर्ण आदत वा व्यवहारको प्रतीक हो । अहिलेका प्रत्येक मानिसहरूमा धेरथोर मधु र कैटभका स्वभाव वा प्रवृत्ति पाइन्छन् । मधु र कैटभ स्वभावका मानिसहरू आफू पनि शान्त बस्दैनन् र ब्रह्माजीजस्ता ध्यान वा आफ्ना कार्यमा लागेकालाई पनि अनावश्यक रूपमा दुःख दिन्छन् ।

राक्षस र विष्णुको पाँचहजार वर्षसम्म युद्ध भयो अर्थात् जीवात्माको उत्पत्ति पाञ्चभौतिक तत्त्व (जल, तेज, वायु, आकाश, पृथ्वी)बाट भएको विषयलाई यसले पुष्टि गरेको छ । मुण्डकोपनिषद्मा भनिएको छ – ब्रह्मा देवानां प्रथमः संवभूव विश्वस्य कर्ता अर्थात् सबै देवताहरूमा विश्वकर्ता ब्रह्मा पहिले उत्पन्न हुनुभयो । विष्णु योगनिद्रामा हुँदानै ब्रह्माजी जागिसक्नु भएको थियो । ब्रह्माजीले नै सम्पूर्ण लोकको सृष्टि गर्नुभएकाले पहिलो देवता भनिएको हो । विष्णुले युद्ध गरी मधु र कैटभलाई मार्नुभयो । मृत्युपछि आत्माले देह छोड्छ र व्यापक बन्दछ । जति सूक्ष्म हुन्छ, त्यति नै बलवान् र व्यापक बन्दछ । प्राणीहरूलाई मायाजालमा भुलाउनका लागि मधु र कैटभ अर्थात् प्रकृतिको आवश्यकता पर्दछ । जबसम्म संसार झुटो हो भन्ने बुझ्दैनन् तबसम्म मधु र कैटभका गुणमा प्राणी लिप्त हुन्छ । यसबाट मुक्ति पाउन ब्रह्माजी जस्तो कमल (ज्ञान) माथि बस्नुपर्छ वा समुद्र (शान्ति)मा मग्न हुनुपर्छ भनी देखाउन खोजिएको मात्र हो । शास्त्रका रहस्यलाई त्यही भाव र भाषामा बुझ्नुपर्छ तब यथार्थ ज्ञान हुन्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights