☰ open

दल दर्ता गर्ने म्याद आज सकिंदै, आयोगमा ६२ वटा दल दर्ता

२०७९ श्रावण ३१, मंगलवार ११:२८
media khavar

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ। निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो। राजनीतिक दलहरुले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भइसकेका छन्। दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या र संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै आज नेपाली कांग्रेसले दल दर्ता गराउँदै छ भने नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights