☰ open

हेटौँडामा नेपाल बैंकको अत्याधुनिक नयाँ भवन उद्घाटन, अर्थमन्त्री वाग्लेले गरे शुभारम्भ

२०८३ असार १०, बुधबार ०८:१०
मिडियाखबर

बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल बैंक लिमिटेडको अत्याधुनिक नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा बनेको सो भवनको आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक भव्य समारोहका बीच उद्घाटन गरे ।

नेपालको जेठो बैंकले आफ्नै नयाँ भवनबाट गुणस्तरीय र अत्याधुनिक बैंकिङ सेवा सुरु गरेकोमा अर्थमन्त्रीले खुसी व्यक्त गरे । उनले आधुनिक सुविधासहितको यस संरचनाले ग्राहकलाई थप सहजता प्रदान गर्ने विश्वास दिलाए ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले अबको युग डिजिटल बैंकिङको भएको बताए । बैंक अत्याधुनिक प्रविधिमार्फत ग्राहकलाई थप प्रभावकारी सेवा दिन सधैं प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

नयाँ भवनबाट अपाङ्गतामैत्री सेवासमेत उपलब्ध गराइने भएकाले स्थानीय सरोकारवालाहरूले बैंकको यस कदमको प्रशंसा गरेका छन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी र उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।

हाल नेपाल बैंकले देशभर रहेका २ सय ३१ शाखा र २ सय ६४ एटीएम काउन्टरबाट वित्तीय पहुँच पुर्‍याइरहेको छ । यसका साथै ६१ एक्स्टेन्सन काउन्टरमार्फत देशका करिब २७ लाख ग्राहकलाई अत्याधुनिक सेवा दिँदै आएको बैंकले जनाएको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको सही सदुपयोगले गर्दा बैंकप्रतिको जनविश्वास बलियो बन्दै गएको छ । छिटोछरितो र गुणस्तरीय ग्राहक सेवालाई प्राथमिकतामा राखेर यो बैंक बैंकिङ बजारमा प्रतिस्पर्धी रूपमा अगाडि बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights