☰ open

जेनजी आन्दोलनको एक वर्ष : प्रचण्डले सरकारसँग मागे जवाफ

७ घण्टा
मिडियाखबर

काठमाडौँ– २४ भदौ २०८३
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरका अपेक्षा अहिले कुन अवस्थामा पुगे भन्नेबारे सरकारसँग जवाफ मागेका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंसको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्। उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रचण्डले सुरुमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यको चिन्ताबाट आन्दोलन उठेको भए पनि राज्यले युवाको आवाज सम्बोधन गर्नुको सट्टा दमनको बाटो रोजेको आरोप लगाए। त्यसपछि आन्दोलनमा संदिग्ध तत्वको घुसपैठ भई सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवनलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र तोडफोड भएको उनको दाबी छ।

उनले ‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय नभएको’ भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। कसले दमन गर्‍यो, आन्दोलन कसले भड्कायो, हिंसा तथा विध्वंस कसले मच्चायो र त्यसबाट लाभ कसले उठायो भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनको भनाइ छ।

प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नसमेत सरकारसँग माग गरेका छन्। दोषी जोसुकै भए पनि राजनीतिक पहुँच वा शक्ति नहेरी कानुनी दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

उनले जेनजी आन्दोलनले उठाएका सुशासन, रोजगारी र समान अवसरका अपेक्षा अझै पूरा नभएको भन्दै महँगी, आर्थिक शिथिलता, बेरोजगारी र युवाको विदेश पलायन बढेको दाबी गरेका छन्।

संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचना कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताउँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक र नागरिक स्वतन्त्रताको रक्षा गर्नुपर्ने बताएका छन्।

उनले लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु भएको भन्दै यसलाई आफूहरूले ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएको उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया