☰ open

कालोबजारी रोक्न बाणिज्य विभागले निर्धारण गर्यो चिनीको मूल्य

१९ घण्टा
मिडियाखबर

काठमाडौँ ३० भाद्र २०८३।

बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको बजार अनुगमनमा कडाइ गरेको छ। व्यापारीहरूले मनपरी ढङ्गले प्रतिकेजी १५० देखि १६० रूपैयाँसम्म असुल्न थालेपछि विभागले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चिनीको अधिकतम खुद्रा मूल्य निर्धारण गर्ने तयारी अघि बढाएको छ।

उपभोक्तालाई राहत दिन तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रतिकेजी ११० रूपैयाँ मूल्य तोकिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले बताए। यो निर्णयसँगै भाटभटेनी, सेल्सबेरी र बिगमार्टजस्ता प्रमुख सुपरमार्केटहरूले अनिवार्य रूपमा तोकिएकै मूल्यमा चिनी बिक्री गर्नुपर्नेछ।

खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाउँदै उपभोक्ताबाट चर्को मूल्य लिइरहेको गुनासो व्यापक रूपमा बढेको छ। बजारको यो अराजकता रोक्न विभागले अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराउने रणनीति लिएको छ।

चिनीको आपूर्ति व्यवस्थालाई सहज बनाउन विभागले साल्ट ट्रेडिङसँग समन्वय गरी मौज्दात र वितरण प्रणालीलाई चुस्त बनाउने भएको छ। बजारमा अनुचित नाफाखोरी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने जो-कोहीलाई उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही गरिने चेतावनी सापकोटाले दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया