मिडियाखबर
माधव पोखरेल ‘गोज्याङ्ग्रे’
नेपालमा जे जति उद्योगधन्दा, सामाजिक सङ्घ संस्था, निजी क्षेत्रका बैङ्कहरू खोलिए ती सबै जनताका लागि खोलिएकाले जनताहरू रोजगारीका लागि दिन दुईगुना रात चौगुनाका दरले विदेश गैरहेका छन । नेपालमा रोजगारीको अवसर आउँछ विदेश गएर रोजगारी गर्नु पर्ने यो कालो समस्याले जालो नै बनाएको छ । बिचरा नेपाली नेताहरू बेरोजगारी भएर बसेका बेलामा सरकारले एउटा नेता बैङ्क खोलिदिएमा कति जाति हुन्थ्यो । बेरोजगारी नेताहरुको पैसा राख्ने ठाउँ नभएर कति बिजोग भा छ । अख्तियारले अनुसन्धान गर्दा सेतो हुनेगरी कालोधन र सरकारले दिएको छ करोड राख्न कम्ता गाह्रो भा छैन । खाली जनताको मात्रै कुरा सुन्ने सरकारले नेताहरुलाई त मच्छर, झिंगा धपाएझैँ धपाइरहेको छ ।
नेताको सरकार र सरकारको नेता हुँदा पनि देश बेपतामा छ । बेपता देशको खोजी गर्नका लागि पनि सरकारले नेता लगाएर खोज्नुपर्ने भएकोले सबैभन्दा पहिले नेताहरुका लागि नेता बैङ्क खोलेर त्यहाँ रकम जम्मा गर्नु पर्ने हुन्छ । किनभने अहिले हातमा नगद दिन मिल्दैन । त्यसैले नेता बैङ्क खोलेर विकासमा सहयोग गर्न यो श्री शून्य गोज्याङ्ग्रेको सरकारले श्री ७६१को सरकार समक्ष टिप्पणी आदेश पेश गरेको छ ।
नेपालमा जनताका लागि के छैन सबै थोक छ । तर नेताका लागि भने जनताको जतिको सुविधा सरकारले दिएको छैन । जनताभन्दा नेता धेरै छन । जनतालाई उल्लु बनाउने विकासे र विनासे कार्र्यकर्ता धेरै छन । जनताले सबै थोक पाएका छन । जनताका नाममा कानले सुन्ने, आँखाले हेर्ने, आँखाले हेरेर दुई ओठले पढने सुन्ने जनता अनलाइन समाचार छ, जनता रेडियो छ, जनता टेलिभिजन छ । जनताले प्रयोग गर्ने जनता बैङ्क छ । भनौँ नेपालका जनता सबै कुरामा सम्पन्न छन । तर नेपालमा नेताले पढने, हेर्र्ने, सुन्ने न समाचार छ, न रेडियो छ, न टेलिभिजन छ । न त छ उनिहरुले कमाएको रकम जम्मा गर्ने नेता बैङ्क । अचम्म छ वा नेताहरू त सरकारका लागि सौताका छोराछोरी जस्ता पो देखिन्छन भन्या । सरकारको यस्तो सौतेनी व्यवहार सहितको रामराज्यको पाराले देश फलदैन र फुलदैन । फुलेर फल्ने देश होइन यो फलेर फुल्ने देश हो । त्यसैले यो पाराले देश चल्दैन चल्दैन ।
देशको मेसमा भेष धारी नेताहरुलाई कन्टिजेन्सी वितरण गर्न नसक्ने हो भने सरकारले जनताका लागि भनेर नेता नपाले हुन्छ । पाल्नु छ भने नेतामात्र पाल्नु होइन भने यो देशको गफाडी सरकार नै फाल्नु कि त जनता पालेर नेता बैङ्क खोल्नु र प्रत्येक वर्ष प्रत्येक नेताका नाममा दस करोड त्यो बैङ्कमा हाल्नु नेताको मुख टाल्नु यो भन्दा बढी के भन्नु ।
जनताका नेता क ख नजाने पनि कमसेकम औँठाछाप लाउने त भा छन कानुनवेत्ता । यस्तै हो हजुर गाणतन्त्र नेपालको कानून औँठाछाप लाउन नजान्नेले पनि जानून । अनि जनताको नामको छ करोड राख्न त चाहियो नि नेता बैङ्क जनता बैङ्कमा राखो भने जनताले थाहा पाउँछन । कागजमा विकास भै हाल्छ । आखिरी अस्तिदेखिको लागेको बानी न हो कागजी घोडा दौडेपछि देशको फेसै अलग हुन्छ । होइन भने नेता नेता मिलेर बैङ्क खोलिपाऊँ भनेर कवितात्मक आन्दोलन गरे भने सरकारले घुँडा टेक्नुको साटो आन्दोलनकारीको लागि काँध थाप्यो भने तलको कविता नजन्मेला भन्न सकिन्न ।
आफै नेता आफ्नै बैङ्क,
स्तर हेर्दा ठूलै रैङ्क,
पठाउ छिटो ठुलै टैङ्क,
चाहियो हामीलाई नेता बैङ्क ।
हाम्रो कुरा सधैँ फ्रैङ्क
जनता नेता फरक रैङ्क
खोल्देऊ हामीलाई छुट्टै टैङ्क
चाहियो हामीलाई नेता बैङ्क ।
राजनीति त नेताहरुको ढाँटी खाने भाँडो हो त्यसैमा खाएर त्यसैमा चुठ््छन । ओडने ओछ््याउने पनि राजनीतिलाई नै बनाएका छन । आकाश मुुनिको सिङ््गो घर नै उनिहरुको हो । भनौ जनता जतिको धनी नेपालमा अरु कोही छैनन तर पनि सरकारले नेताहरुले छुट्टै आफूखुशी रूपले प्रयोग गर्न पाउने बंैक भने स्थापना नगरेर नेताहरुलाई धोखा दिएको छ ।
सबै कुरा जनताकै लागि भनेर छुट्याएको छ । जनताका लागि भनेर मरी मरी श्रम गर्ने बजेटका लागि लडाई गर्ने अनि गोजी खर्च भनेर सरकारसँग रोएर दङग्याएर, नाटक गरेर छ करोडको मालिक बन्दा पनि धर छैन । आखिरी छ, छ करोड दिन सक्ने सरकारले नेता नामको बैंक चाहिँ किन नखोलेको होला ? त्यत्रो राजनीति गरेर कमाएको राख्ने ठाउँ नभएर नेपालको विकास नै विनासमा परिणत हुने चेतावनी आएको बेला सरकारले नेताहरुको बोलीमा कमसेकम लोली त मिलाउनु पर्ने हो । तर नेताहरुको झोली नै रितो पार्ने गरी छ करोड मात्रको व्यवस्था गरेको छ । यसले त जनता हसाउने काम बाहेक अरु केही भा छैन ।
फेरि अर्कोतिर नेपालमा सरकारले निजी क्षेत्रलाई सरकारको नाता नै नपर्ने सानीमा बैङ्क खोल्न दिएको छ भने एकातिर विहे नै नभएकाहरुका लागि कुमारी बैङ्क खोल्न दिएको छ । सगरमाथा नपुगीकन फर्कनेहरुका लागि एभरेष्ट बैङ्क, व्यापार व्यवसायका नाममा ऋण लिएर व्यापार व्यवसाय नगरी बैङ्क ठगदै हिडनेहरुका लागि बाणिज्य बैङ्क खोलेको छ । धन कुमारहरुका लागि लक्ष्मी बैङ्क खोलेको छ । अब आउदा दिनहरुमा ठूलीआमा, काकी, भाउजु, देवरानी, जेठानी, फुपुु, भदै, भाञ्जी, माइजु, सासु, जेठी सासु, विधवा, सधवा, सम्धिनी, श्रीमती बैङ्क समेत खोलिएलान । भनौ हरेक तह र तप्काका मानिसहरुका लागि बैङ्क छ तर नेपालका नेताका लागि नेता बैङ्क नहुनु भनेको सरकारले नेता प्रति गरेको ठाडो पक्षपात र पक्षघात दुबै हो ।
जनताका लागि भने जे पनि गर्नसक्ने सरकारले नेताका लागि भने केही गर्न नसक्नु भनेको नेपालमा श्री शुन्य गोज्याङ्ग्रेको सरकार भए सरहको भएकोले अस्तीको श्री ३ वा हिजोको श्री ५ को सरकार जतिको पनि नहुनु त गणतन्त्र नेपालको खिल्ली उडाएको जस्तो भयो नि । हुन त गणतन्त्र हो कि गनतन्त्र हो के को ? सरकारका पालामा श्री ७६१ को सरकार भएको सुनिदै छ तर त्यो कुन दुलामा लुकेर बसेको छ ७६१ लाई नै कुनै जानकारी छैन ।
सरकार भएको जानकारी करीब तीन करोड जनतालाई हुनु पर्ने हो तर ‘कागलाई बेल पाक्यो हर्ष न विष्माद’ भनेझैँ हामी हल्लुँडे जनतालाई के थाहा । नेताका गोजीमा हामी जनता लुकेर बसेको पनि जानकारी पाउँदैनौ भने नेताका बारेमा म जस्तो गोज्याङ्ग्रेले जानकारी पाउने कुरै भएन ।
जनताका लागि खोलिएको जनता बैङ्कका बारेमा देश विदेशमा कस्तो कस्तो खबर समाचारहरूआएर मान्छेहरूबेखबरमा रुमलिएका छन तर नेता बैङ्कका बारेमा भने सरकारले डकार्दा पनि डकार्दैन । सायद नेताबाट सरकारले रोयल्टी नपाएर हो वा नेताहरुको पहुँच नपुगेर हो अथवा नेताहरुले नै सरकार चलाएर उल्टो काम गरेका कारणले हो न कुनै चर्चा छ न कुनै प्रचार प्रसार अचम्म छ भनेको ।
यो कुरालाई ध्यान दिँदा मलाई त के लाग्छ भने सरकार प्रकार प्रकारका भएकोले सिंहदरबारको सरकार गाउँको स्याल दरबारभित्र ब्वाँसोको घेराबन्दीमा परेर नजरबन्दमा बसेको छ । जसका कारण नेता बैङ्क नै स्थापना हुन सकिरहेको छैन । नेता बैङ्कको अभावले बल्लबल्ल पाएको छ करोड फुपुको धन राख्नै समस्या भएको कुरा सरकारले बुझ्नु पर्ने हो । तर जनताका लागि भने जे पनि गरेको छ ।
जनताका लागि केही गरे वापतको पारिश्रमिकका रूपमा कुरा लुकाएर मागेको त्यो जावो छ करोड राख्न पनि बैङ्कको व्यवस्था गर्न नसक्ने सरकारले देशको विकास गर्ला भन्नु त आकाशको फल आँखा तरी मर भने जस्तै होला नि त ?
जनतालाई ढाँटेर, छलेर, चमेरो, लाटो कोसेरो, वा उल्लु बनाएर देशका निम्ति केस समेत बाँकी नराखी आफैँ शेष भएर विकासे वेसका रुपमा फेस देखाएर चेस खेल्दा पनि सरकारले जावो एउटा बैंङ्क नपत्याउनु भनेको नेताको अस्तित्व नै स्वाहा पार्नु भएकोले भोलि जनताले आहा भन्न बेर लाउदैनन । यदि जनताले आहा भनिहाले भने नेताको इज्जतै स्वाहा होला भन्ने चिन्ता पनि नगर्ने सरकारले करोडियाहरुको अपमान नगर्ला पनि भन्न सकिन्न । किनभने नेताहरूलखपतिबाट करोडपति भएकोले पति हटाएर लखिया, करोडिया मात्र भन्दा भारतीय शब्दझैँ हुने भएकोले पनि आफूहरुलाई दुई नम्बरी ठान्यो भनेर अर्को चर्को नेता बैङ्क खोल्ने आन्दोलन न छेडलान भन्न सकिन्न ।
यो आन्दोलनबाट चोखिन सुनपानी छर्कनु पर्ने भएकोले त्यसको जिम्मा नेताहरुलाई दिएर सरकारले नेता बैङ्क खोलनेतिर काम कार्यबाही पछि सार्न मनासिव देखि यो टिप्पणी आदेश श्री ७६१ को सरकार समक्ष पेश गरेको छु । जो आदेश ।
लखिया करोडिया हामी नेता
औठा छापमा कानुन बेता
गाउँ छाडी शहरमा आँखा
गाउँमा हाम्रो मर्दैन माखा ।
खान्छौ हामी सुत्केरी भता
विजुली चोरको गास्छौ नाता
रड सिमेन्ट र जस्ता पाता
खान्छौ पिउछौ ओढछौ छाता ।
हामी देशका खासा मान्छे
सोहोर साहार पारी आफै भान्छे
नेता भन्छन हाम्रो जातलाई
आदर्श ठान्छौ पिपल पातलाई ।
बन जङ्गलका पात पतिङ्गर
देशका लागि फोहर कसिङ्गर ।
उदाहरण हौ दुर्गन्धका हामी
नेता पदवी नै पक्का दामी ।
(उदयपुर)
(साभार: नेपालि साहित्य घर )
फेसबुकबाट तपाईको प्रतिक्रिया