मिडियाखबर
कञ्चनपुरका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र पर्ने नदी तथा खोलाहरूबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा पूर्ण रूपमा रोक लगाएका छन्। ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को कानुनी व्यवस्थाअनुसार यो निर्णय गरिएको हो।
उक्त मापदण्डअनुसार हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन। सोही नियम पालना गर्दै जिल्लाका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर उत्खननमा रोक लगाएका हुन्।
वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण गर्न र सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्न यो कदम चालिएको स्थानीय तहहरूले जनाएका छन्। वातावरणीय सन्तुलन कायम राख्न पनि यो रोक आवश्यक देखिएको हो।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले महाकालीसहित क्षेत्रभित्रका सबै नदीनालाबाट नदीजन्य पदार्थ झिक्न रोक लगाइएको बताए। यस अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले सामग्री ओसारपसार गरेमा कारबाही गरिने उनले स्पष्ट पारे।
यसैगरी बेदकोट नगरपालिकाले पनि असारदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्र ढुवानी तथा बिक्री वितरण गर्न नपाइने सूचना जारी गरेको छ। नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
बर्सेनि वर्षायाममा लागू गरिने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको वातावरणीय सन्तुलन जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ। यसले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया