☰ open

खिमलाल भट्टराईद्वारा माधव नेपाललाई चेतावनी

२०७७ फाल्गुन २४, सोमबार १३:४८
मिडियाखबर

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेका नेता खिमलाल भट्टराईले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा तीन पटकसम्म उपस्थित नभए माधवकुमार नेपाललगायत सांसदलाई निस्काशन गर्ने चेतावनी दिएका छन्।

उनले अर्कोतिर लागेका नेता नेपाल लगायत सबैलाई पार्टी कार्यालयले बैठकबारे सूचित गर्ने र उनीहरु आएमा साविककै नेताको हैसियत पाउने नआए कारवाहीमा पर्ने बताए।

उनले भने,‘ हाम्रो विधानले जे व्यवस्था गरेको छ। त्यही अनुसार हामी अघि बढ्नु पर्ने हुन्छ। केन्द्रीय कमिटीका तीन वटा बैठकमा निरन्तर अनुपस्थित भएमा कारवाहीमा पर्नुहुन्छ।’

उनले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक छिट्टै नै बस्ने जानकारी समेत गराए। उनले कानुनी र राजनीतिक प्रश्न खडा भएकोले संवाद र सहमतिको सम्भावना न्यून रहेको बताए।

सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पनि अलगअलग भएको ठहर गरेको थियो।

सर्वोच्च अदालतको यो ठहरलाई कानुनविद्हरुले माग भन्दा धेरै निर्णय गरेको रुपमा हेरेका बेला एमाले र माओवादीमा अदलबदल भएका नेताहरुलाई असहज पर्ने स्थिति आएको हो। नेता नेपाल हाल पूर्वमाओवादी पृष्ठभूमिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्यमा छन्।

उनीसँगै झलनाथ खनाल, सांसद सुरेन्द्र पाण्डेलगायत पनि छन्। यो अवस्था पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुमा पनि आएको छ। नेता नेपालले एमाले इतिहासको विषय भइसकेकाले ओलीले बोलाएको बैठकमा आफू नजाने अडान सार्वजनिक गरेका छन्।

देश संचार

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights