मिडियाखबर
काठमाडौँ: पुनर्स्थापित संसदको पहिलो बैठक वहिष्कार, नाराबाजी र घेराउ भएपछि १० मिनेटका लागि स्थगित भएको छ ।
प्रचण्ड-नेपाल पक्षको विभाजित नेकपाका सांसदहरुले वहिष्कार गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो । बैठक सुरु हुनासाथ प्रचण्ड-नेपाल पक्षले सरकारको राजनीतिक र कानुनी हैसियतमाथि प्रश्न उठाउँदै नियमित कारवाही अघि नबढाउन चेतावनी दिएको थियो ।
सभामुखले नियमित कारवाही अघि बढाउन थालेपछि सांसदहरु वहिष्कार गर्दै बाहिर निस्किएका थिए । त्यसलगत्तै कांग्रेसका सांसदहरुले संसदमा आपत्ति जनाउँदै उठेका थिए । उनीहरुले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाउँदै संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै घेराउ र नारावाजी गरेपछि ५:५५ बजे बैठक स्थगित भएको थियो।
प्रतिनिधिसभाको आइतबारको बैठकमा संवैधानिक निकायमा आफू अनुकुल नियुक्ति गर्न सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश संसदमा पेश गर्ने कार्यसूची थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेश जारी गर्दै संवैधानिक नियुक्तिको प्रक्रियालाई आफू अनुकुल बनाउँदै अख्तियार लगायत संवैधानिक निकायमा संसदीय सुनुवाइ विना नै नियुक्ति गरेको थियो ।
आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि मात्र सुरु भएको हो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो पटक बैठक बसेको हो ।
अन्नपुर्ण पोस्ट




फेसबुकबाट तपाईको प्रतिक्रिया