☰ open

वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशतले घटे

२०८० श्रावण ३१, बुधबार १५:०३
मिडियाखबर

नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकम लिमिटेडको गत आर्थिक वर्षमा नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सार्वजनीक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशतले घटेको । अघिल्लो आर्थिक वर्षमा ३७ अर्ब ९१ करोड ९७ लाख बिक्रि आम्दानी गरेकोमा गत वर्ष घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा झरको छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी भने ३१.४५ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको वित्तीय आम्दानी ७ अर्ब ७६ करोड ५१ लाख २३ हजार पुगेको छ। अन्य आम्दानी भने ४५.३४ प्रतिशतले घटेर २९ करोड ९२ लाख १९ हजारमा झरेको छ।

त्यस्तै, कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा ४४ अर्ब ३७ करोड ४६ लाख ५७ हजारबाट बढेर ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights