☰ open

नेपालको जलविद्युत क्षेत्रमा पछिल्लो पाँच वर्षमा चमत्कार भएको बताए : वर्षमान पुन

२०८० आश्विन २१, आईतवार १८:५६
मिडियाखबर

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेपालको जलविद्युत क्षेत्रमा पछिल्लो पाँच वर्षमा चमत्कार भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार विद्युत विधेयक–२०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले सरकार र निजी क्षेत्रको उदाहरणीय सहकार्यमा छोटै समयमा जलविद्युत क्षेत्रमा फड्को मार्न सकिएको बताए।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुनले प्रस्तावित विधेयकले जलविद्युतमा ‘पोलिसी डिपार्चर’ गर्ने भन्दै सरकारको प्रशंसा गरे। ‘पछिल्लो पाँच वर्षमा हामीले जलविद्युत क्षेत्रमा चमत्कार गरेका छौं। पाँच वर्ष अगाडि १ हजार हाराहारीमा रहेको कूल जडित क्षमता अहिले ३ हजार पुगेको छ’, उनले भने, ‘पाँच दोब्बर होइन तीन गुणा भएको छ । आगामी पाँच वर्षमा १० हजा मेगावाट वरिपरि पुग्छ। हामीले यसमा राम्रो गेरका छौं।’

उनले प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडल जलविद्युत क्षेत्रमा धेरै सफल भएको उल्लेख गरे। जलविद्युतमा निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने चर्चा गर्दै पुनले विधेयकले त्यसका लागि बाटो खोलेको बताए। विगतमा विद्युत उत्पादन, प्रसारण, वितरण र व्यापार सबै सरकारले गर्ने गरेको भए पनि हाल सबै चरणमा निजी क्षेत्रको सहभागी गराउने नीति विधेयकले अघि सारेको उनले बताए। ‘पीपीपी मोडेलमा सबैभन्दा सफल कुनै क्षेत्र छ भने त्यो जलविद्युत नै हो। प्राइभेट सेक्टरले बनाउँछ, ३० वर्ष चलाउँछ, नाफा आर्जन गर्छ र फेरि सरकारलाई हस्तान्तरण गर्छ’, पुनले भने, ‘ विगतमा उत्पादन, वितरण र व्यापारको काम सरकारले गथ्र्यो। निजी क्षेत्र उत्पादनमा मात्र थियो।

विधेयकले प्रसारण, वितरण र आन्तरिक तथा बाह्य व्यापारमा पनि प्राइभेट सेक्टर आउन सक्छ भनेको छ। यो त एउटा डिर्पाचर हो । निजी क्षेत्रका लागि पनि धेरै राम्रो विधेयक आएको छ।’ उनले विगतमा निजी क्षेत्रलाई नदी प्रवाहमा आधारित विद्युत आयोजनामा मात्र लगानी गर्न दिइएकामा अब जलासययुक्त आयोजनामा समेत निजी क्षेत्रको प्रवेश सुनिश्चित गरिनुपर्ने औंल्याए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights