☰ open

रिगल जिल्ला कारागार चलान

२०८० कार्तिक १७, शुक्रबार १३:३९
मिडियाखबर

बाँके जिल्ला अदालतले योगराज ढकाल ‘रिगल’ लाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ।

सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपागञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिएका छन्।

बाँके प्रहरीले रिगललाई बिहान ११ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो।

कैदमाफी दिने सरकारले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइ दिएपछि रिगल बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका थिए। यद्यपि उनका समर्थकहरूले भने उनले आत्मसमर्पण गरेको बताएका छन्।

यसअघि जन्मकैद सजाय पाएका रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो।

आदेशलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो।

घटनाको समय रिगल नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए।

अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन उनलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights