☰ open

महोत्तरीमा एक घरमा डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट

२०८० कार्तिक २०, सोमबार १५:२३
मिडियाखबर

महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा आइतबारराति एक घरमा डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्।

स्थानीय जयकिशोर चौधरीको घरमा आइतबारराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।

डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए। मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन्।

डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए। डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले जानकारी दिए।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए। घटनाबारे प्रहरीलाई सोमबार बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights