☰ open

माइतीघरमण्डला, बानेश्वर क्षेत्रसँगै सितलनिवास र बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा

२०८० मंसिर ६, बुधबार ११:१८
मिडियाखबर

काठमाडौंको माइतीघरमण्डला, बानेश्वर क्षेत्रसँगै सितलनिवास र बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्वमा पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नाला, उत्तरमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गर्नुभएको छ ।

बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा मङ्सिर ५ गतेबाट ३० दिनसम्मका लागि जारी गरिएको छ । निषेधित क्षेत्रमा पाँच जना बढी मानिस जम्मा हुन रोक लगाइएको छ । ‘अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुन सक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै उल्लिखित स्थान सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवम् महत्त्वपूर्ण प्रतिष्ठान समेत भएकोले सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायहरूको कामकारबाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०।०८।०५ गतेदेखि ३० (तीस) दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ’, प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा लेखिएको छ ।

यसअघि काठमाडौं प्रशासनले माइतीघर र बानेश्वर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले  ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights