☰ open

धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज भुत मेल

२०८० मंसिर ११, सोमबार १०:४३
मिडियाखबर

कार्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भुत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

हिजो साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने बटेश्वर गाउँपालिकाका धामी मनोज महतोले बताए ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्ति शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने विश्वास रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

सर्वसाधारणहरु पनि आजका दिन कमला स्नान गरे दु:ख कलेस पापबाट मुक्त हुने विश्वास रहेको छ । अहिले कमला नदीमा लाखौंलाखको संख्यमा श्रद्धालुहरुको भीड लागेको छ ।
यो मेला भर्न भारतबाट समेत ट्याक्टर, बस, जीप जस्ता सवारीसाधनमा श्रद्धालुहरु आउने गर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights