२०८१ भाद्र १९, बुधबार १२:४०
मिडियाखबर
गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए ।
‘अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ,’ गृहमन्त्री लेखकले भने,’नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’
उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो ।
उनले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ,’ उनले भने,’कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौं सशत्र द्वन्द्वलाई शान्तिमा ल्यायौं ।’
उनले मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गनसमेत आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया