☰ open

ओली र लेखक आज अदालतमा पेस हुने, २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागिने

२०८२ चैत्र १५, आईतवार ०९:३७
मिडियाखबर

शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) जिल्ला अदालत काठमाडौंमा पेस गर्ने भएको छ ।

शनिबार अदालत बिदा भएकाले उनीहरूलाई प्रहरी हिरासतमा राखेर आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालतमा पेस गरी उनीहरूलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागिने छ ।

पक्राउपछि ओली अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा भएको मानवीय क्षतिको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई लापरबाही तथा हेलचेक्र्याइँको आरोपमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो ।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार प्रहरीले शनिबार बिहान भक्तपुरबाट दुवै नेतालाई पक्राउ गरेको थियो । उनीहरूमाथि फौजदारी कसुर (लापरबाहीबाट ज्यान गएको सम्बन्धी) मा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार कानुनी प्रावधानअनुसार २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिनुपर्ने हुन्छ । आजको पेशीमा सो अनुमति मागिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights