☰ open

आजदेखि बजेट अधिवेशन: नीति तथा कार्यक्रम आजै पेस हुँदै

२०८३ बैशाख २८, सोमबार ०८:३३
मिडियाखबर

संवैधानिक तथा कानुनी दायित्व पूरा गर्नुपर्ने समयसीमाको दबाबबीच सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्न संयुक्त बैठक पनि बस्ने छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । “अधिवेशन केही ढिला भए पनि प्रारम्भ र संयुक्त बैठकको तयारी भइसकेको छ,” उहाँले भन्नुभयो ।

अधिवेशनको प्रमुख कार्य जेठ १५ गते सरकारले वार्षिक बजेट पेस गर्नु हो । असार मसान्तसम्म बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसै अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पनि पेस र स्वीकृत हुनेछ ।

आज अपराह्न ४ बजे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । नीति तथा कार्यक्रममा वैशाख ३० गते छलफल, संशोधन र पारित गर्ने कार्यतालिका तय गरिएको छ ।

बजेट प्रस्तुत हुनुभन्दा अघि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) छलफल हुनेछ । प्रतिनिधिसभा नियमावलीअनुसार प्रिबजेट छलफल बजेटभन्दा कम्तीमा १५ दिनअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर, यो पटक जेठ ४, ५ र ६ गते छलफल गरी प्रक्रिया पूरा गर्ने गरी कार्यतालिका बनाइएको छ ।

अधिवेशन प्रारम्भकै दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका आठवटा अध्यादेश दुवै सदनमा पेस हुनेछन् । यी अध्यादेशलाई ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत स्वीकृत गर्नुपर्ने दायित्व छ ।

नियमित विधायिकी कार्यअन्तर्गत वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक र चलचित्र विधेयकको प्रक्रिया अघि बढ्नेछ । सरकारले पहिलो प्राथमिकतामा ४० भन्दा बढी विधेयक पेस गर्ने तयारी गरेको छ ।
on

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights