मिडियाखबर
काठमाडौं १७ भाद्र २०८३।
म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । ‘हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे’, उहाँले भन्नुभयो, ‘अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ ।’
पहिले तालको किनारैकिनार हिँडेर आरोही र भरियाहरू आधार शिविर पुग्ने गरेकामा २०६४ सालमा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति गरेपछि चार हजार १९० मिटर उचाइमा अवस्थित हालको आधार शिविर प्रयोगमा ल्याइएको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो ।
अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । जिल्लाको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको पञ्चकुण्ड हिमतालमा जलवायु सङ्कटका छायाँ देखिन थालेको छ ।
अन्नपूर्ण –६ मा घर भएका पर्यापर्यटनसम्बन्धी अध्यता घनश्याम खड्का हिमपहिरोको जोखिम र तापक्रम वृद्धिको असरबाट पञ्चकुण्ड ताल पनि अछुतो नरहेको बताउनुहुन्छ । एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का विज्ञले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड हिमतालको आकार सन् २०२५ मा बढेर ०.३८८ वर्गकिलोमिटर पुगेको छ, उहाँले भन्नुभयो, विगत १२ वर्षका अवधिमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार ८४६ प्रतिशतले विस्तार भएको इसिमोडको तथ्याङ्क छ ।
विसं २०६७ मा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग पहिचानका लागि नारच्याङका स्थानीयहरूको अगुवाइ गरेर गएका अभियान्ता तेज गुरुङका अनुसार पाँच कुण्ड देखिएपछि पञ्चकुण्ड नामकरण गरिएको थियो । शेर्पाहरूले ‘डिकिचो’ भन्ने यस ताललाई हामीहरूले नै पञ्चकुण्ड नामकरण गरेका हौँ, उहाँले भन्नुभयो, धार्मिक हिसाबले पनि यसलाई पञ्चकुण्ड भनिएको हो । शेर्पा भाषामा डिकिचोको अर्थ जमेको ताल हो ।
यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिकग्रन्थ पञ्च रामायणमा उल्लेख छ । धर्मग्रन्थका अनुसार परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषिले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए ।
पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् ।
विसं २०७७ देखि सञ्चालनमा आएको नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड तालको विशेषता हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु हो ।



फेसबुकबाट तपाईको प्रतिक्रिया