☰ open

लिपुलेक नाकाबारे भारतको जवाफ : यो नयाँ होइन, १९५४ देखिकै हो

२०८३ बैशाख २१, सोमबार ०९:५९
मिडियाखबर

भारत सरकारले लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न सकिने आफ्नो पुरानो अडानलाई पुनः स्पष्ट पारेको छ ।

नेपाल सरकारले सीमा विवादलाई लिएर ध्यानाकर्षण गराएपछि भारतीय विदेश मन्त्रालयले आइतबार विस्तृत प्रतिक्रिया दिँदै यो नाका सन् १९५४ देखि नै प्रयोग हुँदै आएको र कुनै नयाँ विकास नभएको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको वक्तव्यमा भनिएको छ, “भारतले यस्ता क्षेत्रीय दाबीहरूलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको ठानेको छ । एकपक्षीय रूपमा क्षेत्र विस्तार गर्ने प्रयास व्यवहारिक रूपमा स्वीकार्य हुन सक्दैन ।”

चीन र भारतबीच लिपुलेक नाकाबाट कैलाश मानसरोवर यात्रा खुला भएपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै आफ्नो चासो व्यक्त गरेको थियो । यसको जवाफमा भारतले आफ्नो अडान ‘सुस्पष्ट र निरन्तर’ रहेको उल्लेख गरेको छ ।

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवादका लागि तयार रहेको पनि जनाएको छ । वक्तव्यमा सीमासम्बन्धी बाँकी विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights