☰ open

विश्वकपमा एमबाप्पेको ऐतिहासिक कीर्तिमान: सेनेगल ३-१ ले पराजित

२०८३ असार ३, बुधबार ०८:११
मिडियाखबर

फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेले देशका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

मंगलबार राति भएको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा सेनेगलविरुद्ध दुई गोल गर्दै उनले यो ऐतिहासिक सफलता हात पारेका हुन् ।

विश्वकपको आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गरे ।

एमबाप्पेको कीर्तिमानी खेल
खेलको ६६ औँ मिनेटमा माइकल ओलिसेको पासलाई सदुपयोग गर्दै एमबाप्पेले टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको इन्जुरी समयको छैटौँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

यो खेलसँगै एमबाप्पेले फ्रान्सका लागि आफ्नो कुल गोल सङ्ख्या ५८ पुर्‍याएका छन् । उनले पूर्व स्ट्राइकर ओलिभर जिराउडको ५७ गोलको कीर्तिमानलाई उछिनेर यो स्थान सुरक्षित गरे ।

दोस्रो हाफको रोमाञ्चक भिडन्त
खेलको ८२ औँ मिनेटमा एड्रियन र्याबियोटको पासमा सब्सटिच्युट खेलाडी ब्राडली बार्कोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । सेनेगलका तर्फबाट १८ वर्षीय स्ट्राइकर इब्राहिम म्बायेले ९५ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

म्बायेको गोलको लगत्तै एमबाप्पेले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै फ्रान्सलाई सहज जित दिलाए । विश्वकपमा विजयी सुरुवात गरेसँगै फ्रान्सले महत्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights