☰ open

राइट एन्ड एसोसिएट्सबाट भोटेकोशी बाढी प्रभावितका लागि छ लाख सहयोग

३ घण्टा
मिडियाखबर

राइट एन्ड एसोसिएट्सले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि छ लाख एक रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
संस्थाका प्रबन्ध निर्देशक परशुराम अधिकारीले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राज्यले सञ्चालन गरिरहेको खोज, उद्धार र राहत अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बताए।

“दुःखको यस घडीमा थोरै भए पनि प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,” अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संस्थाको सिड्नीस्थित रकडेल कार्यालयका निर्देशक अरुण गौतमले विपद्का बेला प्रभावित नागरिकको सहयोगमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गरिएको बताए।

संस्थाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार र राहतलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

राइट एन्ड एसोसिएट्सले २६ वर्षदेखि शिक्षा, प्रवेशाज्ञा तथा आप्रवासनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ। काठमाडौँको पुतलीसडकबाट सेवा सुरु गरेको संस्थाले नेपाल तथा विदेशका विभिन्न स्थानमा शाखा र कार्यालय सञ्चालन गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया