☰ open

सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधन,संसारभर शोक

२०७८ माघ २४, सोमबार १०:५२
मिडियाखबर

भारतीय सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधन भएको छ । उनलाई एक महिना अघि कोरोना संक्रमणपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो जहाँ आइतबार बिहान ८ बजेर १२ बजेर अन्तिम सास फेरिन् । लता मंगेशकरको सङ्गीत यात्राको महत्वपूर्ण पाटामाथि एक नजर ।

कुरा सन् १९४३–४४ आसपासको हो । कोल्हापुरमा एउटा फिल्मको सुटिङ चलिरहेको थियो र त्यतिबेलाकी चर्चित गायिका नुरजहाँ आफ्नो गीतको रेकर्डिङका लागि त्यहाँ आएकी थिइन् । त्यसै फिल्ममा एउटी बालिकाको पनि अभिनय रहेको थियो ।

फिल्मका निर्माताले नुरजहाँलाई बालिकाको परिचय गराउँदै भने, ‘यिनी लता हुन् र उनी गाउँछिन् पनि ।’ नुरजहाँले फ्याट्टै भनिन्, ‘राम्रो, केही गाएर सुनाउ त ।’ लताले शास्त्रीय सङ्गीतले सजिएको एउटा गीत सुनाइन् । नुरजहाँ सुनिरहिन् र लताले गाइरहिन् ।

बालिकाको गीत सुनेर खुसी भएकी नुरजहाँले ‘असाध्यै राम्रो गाउँदो रहेछौ, रियास मात्रै गरिराख, धेरै माथि पुग्नेछौ । ’ रोजी रोटीका लागि फिल्ममा सानोतिनो भूमिका निभाउने यी बालिका पछि गएर सुरकी मल्लिका लता मंगेशकर बनिन् ।

यहाँ गीतकार–निर्देशक गुलजारले भनेको एउटा कुरा याद आउँछ – लता एक गायिका मात्रै होइनन्, उनी हरेक हिन्दुस्तानीको दैनिक जीवनयापनको हिस्सा बनिसकेकी छिन् ।

सङ्गीतकार आनन्दघन पनि थिइन् लताः

गायिका बाहेक लताको व्यक्तित्वका विभिन्न पाटा थिए जसबारे निकै कमलाई थाहा छ । उदाहरणका लागि लता मंगेशकरको आनन्दघन नामका सङ्गीत निर्देशकसँग नजिकको सम्बन्ध ।

आनन्दघनले ६० को दशकमा चार मराठी फिल्मका लागि सङ्गीत दिइन् । यी व्यक्ति अरु कोही नभई लता मंगेशकर आफैँ थिइन् जसले नाम फेरेर सङ्गीत दिने गर्दथिन् ।

सन् १९५० मा उनले आफ्नो वास्तविक नाम अन्तर्गत एउटा मराठी फिल्मको सङ्गीत दिएका थिए – राम राम पहुणे । तर यो सिलसिला धेरै दिनसम्म चल्न सकेन ।

ऋषिकेश मुखर्जीले लता मंगेशकरलाई फिल्म आनन्दको सङ्गीत भरिदिन आग्रह गरेका थिए तर लताले अस्वीकार गरेकी थिइन् । यो कुरा निकै कमलाई थाहा छ ।

विष दिएको आशंका जताएकी थिइन् लतालेः

लेखिका नसरिन मुन्नी कबिरले लता मंगेशकरसँग अन्तरवार्ता लिएर एउटा किताब लेखेकी थिइन् ।

उसै किताबमा एउटा गीतको रेकर्डिङको कुरा गर्दै लताले भनेकी छिन्, ‘सन् १९६२ मा म एक महिनाका लागि बिरामी भएकी थिएँ । मेरो पेटको एक्सरे लिइयो र मलाई मन्द विष खुवाइएको बताइयो । हाम्रो घरमा खाना बनाउने एकजना मात्रै सहयोगी थिए । त्यसदिन ती सहयोगीले केही नभनी घरबाट निस्किए । पैसा पनि लिएनन् ।’

‘त्यतिबेला मलाई लाग्यो कि कसैले उनलाई हाम्रो घरमा राखिदिएका थिए । ऊ को थिए, मलाई थाहा छैन । तीन महिनासम्म म थला परेँ । त्यतिबेला मजरुह साहबले मलाई सहयोग गरे । उनी दिनदिनै बेलुका घर आउँथे र तीन महिनासम्म यो सिलसिला जारी रह्यो । म जे खान्थेँ, उनले पनि त्यहि खान्थे ।’

सङ्गीतको दुनियाँमा लताको यो यात्राले सफलताको शिखर छोएपनि यो संघर्ष, तिरस्कार र समस्याले भरिपूर्ण रह्यो ।Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया