☰ open

 बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा

२०८१ जेष्ठ १, मंगलवार ११:१९
मिडियाखबर

बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २ वटा बस बिसौनी बनेका छन् ।

२ फल्चा बस बिसौनीमध्ये बानेश्वरबाट बबरमहल सडकखण्डमा बनेको बस बिसौनी सञ्चालनमा आएको काठमाडौं महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा बनेको बिसौनी असार महिनाभित्र सञ्चालनमा आउने उनले बताए ।

नेवारी समुदायको संस्कृतिसँग जोडिएको फल्चा शैलीमा बनेका दुवै बस बिसौनी ६२ लाख रुपैयाँमा बनेको महानगरपालिकाले जनाएको छ । वडाध्यक्ष केसीले परम्परागत निर्माण सामग्री प्रयोग गरेर परम्परागत शैलीमै नमुना बस बिसौनी बनाएको जानकारी दिए ।

वडा सचिव सुवोध खड्काले नमुना फल्चा बस बिसौनी निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको जानकारी दिए । बस्नका लागि काठकै मेच राखिएको र बिसौनीभित्र उज्यालोका लागि बत्ती पनि जडान गरिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights