☰ open

मेडिकल र आईआईटी शिक्षण संस्था स्थापना गर्न भारतसँग मुख्यमन्त्री यादवको आग्रह

५२ मिनेट
मिडियाखबर

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भारत सरकारसँग मधेश प्रदेशमा मेडिकल कलेज र आईआईटी शिक्षण संस्था स्थापना गर्न आग्रह गरेका छन् । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित ‘नेपालको वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध’ विषयक एकदिने विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन् ।

मुख्यमन्त्री यादवले भारतको प्रख्यात मेडिकल अस्पताल ‘अल इन्डिया मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ (एम्स) को शाखा तथा एउटा आईआईटी शिक्षण संस्थाको शाखा मधेश प्रदेशमा स्थापना गर्न भारत सरकारसँग माग गरे ।

भारतको प्रत्यक्‍ष मेडिकल अस्पताल अल इन्डिया मेडिकल इन्स्टिच्युटको शाखा र एउटा आईआईटी शिक्षण संस्थाको शाखा मधेश प्रदेशमा स्थापना गरी यहाँको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याइदिन उनले आग्रह गरेका हुन् ।

मुख्यमन्त्री यादवले भारतले मधेश प्रदेशसहित नेपालभर गर्दै आएका विभिन्न योगदानको प्रशंसा गर्दै धन्यवादसमेत ज्ञापन गरे । भारत र नेपालको सम्बन्ध पौराणिक कालदेखि नै रहँदै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

मधेश प्रदेश भारतसँग सबैभन्दा नजिक रहेकाले भारतले मधेश प्रदेशका जनताका लागि विशेष सहयोग गर्नुपर्ने धारणा मुख्यमन्त्री यादवले राखे । उनले राजनीतिक जटिलताका कारण भारतले दिँदै आएको सहयोग सीधा प्रदेश सरकारसम्म नपुगी केन्द्र सरकारको झन्झटिलो प्रक्रियामा अल्झिने गरेको गुनासो गरे ।

भारत सरकारले दिन खोजेको आर्थिक सहयोग सोझै प्रदेश सरकारले पाउने वातावरण हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री यादवले भारतबाट प्राप्त सहयोग प्रदेशको विकासमा प्रभावकारी रूपमा उपयोग गर्न सहज हुने बताए ।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका कन्सुलर जनरल डा. एस मिनाले भारतले नेपालमा विगतका वर्षमा विभिन्न क्षेत्रको विकासका निम्ति दिएको सहयोगबारे विस्तृत जानकारी गराएका थिए ।

भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई भौतिक, आर्थिक, शैक्षिक र प्राविधिक वृद्धिमा सधैँ लगानी गर्दै आएको र भविष्यमा पनि सहयोग जारी राख्ने नीति लिएको कन्सुलर मिनाले बताए । भारतले नेपाललाई आफ्नो छिमेकी मात्र नभई अभिन्न साझेदारका रूपमा लिँदै आएको उल्लेख गर्दै उनले नेपाललाई अघि बढ्न मद्दत गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका अध्यक्ष एवं पूर्वमन्त्री रामसिंह यादवले भारत सरकारले आर्थिक तथा भौतिक विकासबाहेक भावनात्मक र शैक्षिक विकासमा पनि नेपाललाई मद्दत गर्नुपर्ने धारणा राखे ।

भारत सरकारले नेपाललाई सहयोग गर्दै आए पनि नेपालीले भारतलाई हेर्ने दृष्टिकोण सधैँ सकारात्मक नरहेको पूर्वमन्त्री यादवको भनाइ थियो । भारत सरकारले यस विषयमा समीक्षा गर्दै भौतिक र आर्थिक सहयोगबाहेक नेपाल र नेपालीसँग भावनात्मक जुडाव हुने किसिमका कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।

मधेश प्रदेशमा मेडिकल तथा उच्च प्रविधियुक्त शिक्षण संस्था स्थापना भए स्वास्थ्य, शिक्षा र प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा प्रदेशले महत्वपूर्ण फड्को मार्न सक्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया