☰ open

भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आग्रह

२ घण्टा
मिडियाखबर

काठमाडौँ ७ मंसिर, २०८३ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै भारतीय उद्योगी तथा व्यवसायीलाई नयाँ लगानी गर्न र विद्यमान लगानी विस्तार गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारतको दुईदिने राजकीय भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै भारतीय लगानीकर्तालाई यस्तो आह्वान गरेका हुन्।

भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीलाई नेपालमा लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे। यी क्षेत्रमा नयाँ परियोजना अघि बढाउन र नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई थप पुँजी परिचालन गर्न उनले आग्रह गरे।

वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएको उल्लेख गर्दै भारतीय व्यवसायीलाई लगानीको अवसर उपयोग गर्न आह्वान गरे। नेपालमा लगानी गरिसकेका कम्पनीले समेत आफ्नो व्यवसाय विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

नेपाललाई थप लगानीमैत्री बनाउन सरकारले नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको पनि अर्थमन्त्री वाग्लेले बताए। लगानीकर्ताको पुँजी सुरक्षा, लगानीबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितता र आर्जित नाफा सहज रूपमा फिर्ता लैजान सक्ने व्यवस्था मिलाउन सरकारले आवश्यक कानुनी तथा प्रशासनिक सहजीकरण गरिरहेको उनले स्पष्ट पारे।

कार्यक्रममा भारतका उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र भारतीय उद्योग परिसंघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि नेपाल–भारत आर्थिक तथा व्यावसायिक सहकार्यका विषयमा धारणा राखेका थिए।

राउन्डटेबलमा प्रधानमन्त्री शाहको भ्रमण टोलीसँगै भारत पुगेका नेपाली उद्योगी तथा व्यवसायीका साथै डेढ दर्जन भारतीय उद्योगी, व्यवसायी र प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया