मिडियाखबर
जेनजी आन्दोलनका समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित उनको निवासबाटै रिजाललाई नियन्त्रणमा लिएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा किशोरसहितका प्रदर्शनकारीको ज्यान जाने गरी गोली चलाउन आदेश दिएको आरोप रिजालमाथि लागेको थियो ।
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो ।
रिजालले भने आयोगसमक्ष बयान दिँदै घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको दाबी गरेका थिए । उनले केवल रबर बुलेट तलतिर प्रहार गर्न मौखिक निर्देशन दिएको र स्थिति नियन्त्रण गर्न चरणबद्ध रूपमा बल प्रयोग गरिएको बताएका थिए । तर, आयोगले उनलाई घटनाको जिम्मेवार ठानेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया