☰ open

मोदीसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री शाह, नयाँ एयर रुटमा सहमति हुने अपेक्षा

२ घण्टा
मिडियाखबर

काठमाडौँ ७ मंसिर, २०८३
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

भारतीय समयअनुसार सोमबार बिहान ११ बजे नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ। त्यसअघि बिहान १० बजे दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ।

मोदीसँग करिब आधा घण्टा भेटवार्ता गरेपछि दिउँसो १२ः२५ बजे नेपाल र भारतबीच विभिन्न समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ।

भेटवार्ताका क्रममा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल, डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, नयाँ हवाई रुटका विषयमा पनि महत्वपूर्ण सहमति हुने प्रधानमन्त्री शाहको अपेक्षा छ।

आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीस्थित ताज होटलमा संक्षिप्त भेटवार्ता भएको थियो।

प्रधानमन्त्री शाहले आज बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यस्तै, दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

प्रधानमन्त्री शाहसँगै मन्त्रीहरू, उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकारहरूको टोली पनि भारत भ्रमणमा रहेको छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भ्रमण टोलीसहित सोमबार अपराह्न ४ः५० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया